लालबन्दी : पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ घर भई कपन बस्ने ४२ वर्षको रामनन्दन ठाकुर र सप्तरीको बलानविहुल गाउँपालिका-६ घर भई गौरीघाट बस्ने ४१ वर्षका मिश्रीलाल यादव रहेका छन्।
बिहीबार पक्राउ परेका ठाकुरको साथबाट प्रहरीले हड्डी र खरानीको धुलो बरामद गरेको छ।
प्रहरीले यसअघि साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा जलाउँदै गरेको शवको हड्डी निकालेको ५ सय रुपैयाँमा बेचेको आरोपमा यसअघि २ जना पक्राउ परेका थिए। उनीहरूसँग हड्डी किन्ने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको काठमाडाैँ परिसरका प्रवक्त्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेको आरोप छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको खुलेको छ ।
ढकाल २५ वर्षदेखि पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए । एउटा शव जलाएबापत उनले पशुपति विकाश कोषसँग १५ सय रुपैयाँ लिन्छन् ।
प्रहरीले ठाकुरले प्लास्टिकमा पोको बनाएर राखेको अवस्थामा हड्डीको धुलो र खरानी बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।