सर्लाहीमा निषेधाज्ञा जारी

लालबन्दी : जिल्ला कारागार सर्लाहीका कैदी बन्दीले कारागार भवनको माथिल्लो तल्ला भागमा आगजनी गर्ने प्रयास गरेका छन्।

आज बिहान एक्कासी कैदी बन्दीले कारागार तोडेर भाग्ने प्रयास गर्ने क्रममा आगजनी गरेका हुन्। कैदी बन्दीहरूले कारागारको माथिल्लो तलामा आगजनी गरेर भाग्ने प्रयास गरेपछि तीनवटै सुरक्षानिकायले अहिले नियन्त्रणमा लिएका छन्। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारैतिरबाट कारागार घेरा हालेका छन्।

सुरक्षाकर्मीको बलियो घेरामा कारागार भवन रहेका कारागारका प्रमुख विशाल चौधरीले जानकारी दिए। कैदी बन्दी बिहान केही बेर तोडफोड प्रयास गरेपछि कारागार परिसरको अवस्था तनावग्रस्त बनेको उनले जानकारी दिए। ‘‘बिहान अवस्था तनावग्रस्त बनेको थियो’’‚ कारागार प्रमुख चौधरीले भने, ‘‘तत्काल नेपाली सेना, कारागार सुरक्षाकर्मी समेतले घेरा हालेपछि अहिले अवस्था नियन्त्रणमा आउने क्रममा छ।’’

कैदी बन्दीले लगाएको आगो पनि वारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिने प्रयास भइहेको जनाइएको छ। १६० जना पुरुष र ५० जना महिला गरी २१० जना क्षमताको यस कारागारमा महिला र पुरुष गरी ३९८ जना थुनामा छन्। यस्तै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मको बिहान ८:३० बजेबाट सर्लाहीमा निषेधाज्ञा आदेश जारी गरेको छ।

ठाउँ ठाउँमा पालिका कार्यालयमा तोडफोड र आगजनी भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जारी गरेको आदेशमा पूर्वमा महोत्तरी जिल्ला, पश्चिममा रौतहट जिल्ला, उत्तरमा सिन्धुली जिल्ला र दक्षिणमा भारतको सिमानासम्म चार किल्लाभित्र आवतजावत, सभा, जुलुस, कुनै पनि किसिमको भेला, बैठक गर्ने निषेध गरेको उल्लेख छ।

यस चार किल्लाभित्र नेपाली सेना सहितको सुरक्षाकर्मी परिचालन भएकाले घरमै सुरक्षित रहन भनिएको छ। निषेधाज्ञा अवधिमा पनि अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी कूटनीतिक नियोगको सवारी सञ्चालनमा भने सहजीकरण गरिने उल्लेख छ।

सम्बन्धित समाचार

सबै