सर्लाही : सर्लाहीको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ।
सोमबार दिउँसो जिल्लाको ईश्वरपुर नगरपालिका-६ बयलबास बजारको सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
‘सडकमा पेस्तोल जस्तो हतियार देखिएको भन्दै स्थानीय जितन साहले हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत रहेका डीएसपी कैलाश राईले भने, ‘प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठको कमाण्डमा गएको प्रहरी टोलीले पेस्तोल लिएर आएको छ। एउटा गोली लोड गरिएको चालु अवस्थाको पेस्तोल छ।’
कसैले आपराधिक घटना घटाउने उद्देश्यले गोली लोड गरेको पेस्तोल बोकेर हिँडेको र प्रहरीलाई देखेपछि फालेको हुन सक्ने अनुमान डीएसपी राईले गरे।
उनले यस विषयमा थप अनुसन्धान जारी रहेको जानकारी दिए।