सर्वाधिक कर तिर्ने सगुन सहकारी सम्मानित

हरिपुर । जनकपुर करदाता सेवा कार्यालयअन्तर्गत सबैभन्दा बढी आयकर बुझाउने सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनलाई आज सम्मान गरिएको छ । 

१४औँ राष्ट्रिय कर दिवसका अवसरमा करदाता सेवा कार्यालय जनकपुरले आर्थिक वर्ष २०८०/८१ मा कार्यक्षेत्रभित्रका करदातामध्ये सर्वाधिक आयकर दाखिला गरेको आधारमा सगुन सहकारीलाई सम्मान गरेको हो।

कार्यालयका प्रमुख एवं कर अधिकृत विकास कुमारका अनुसार सहकारीले निरन्तर जिम्मेवार करदाता बन्ने भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरिएको छ । 

करदाता सेवा कार्यालयले प्रदान गरेको सम्मानपत्र सुशीलाकुमारी कटुवाल (सञ्चालक समिति सदस्य) र निरोजकुमार दाहाल (सूचना अधिकारी) ले ग्रहण गरेका सहकारीका व्यवस्थापक रवीन्द्र रानाले जानकारी दिए । 

सगुन सहकारीले मधेस प्रदेशमै उत्कृष्ट कारोबार गर्ने सहकारीका रूपमा पहिचान बनाएको छ । यसअघि नै प्रदेश सरकारले पनि संस्थालाई प्रदेशको उत्कृष्ट सहकारीको रूपमा सम्मान गरिसकेको छ । त्यस्तै, करदाता सेवा कार्यालय मलङ्गवाले भने आफ्नो कार्यक्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल भेनियर (प्लाई उद्योग), मलङ्गवालाई सम्मान गरेको छ । उक्त उद्योगका सञ्चालक तथा मलङ्गवा–४ निवासी नागेश्वर रायलाई कार्यालयकी प्रमुख रास्तीकुमारी यादव लगायतको टोलीले सम्मान–पत्र प्रदान गरेको हो । 

सर्लाहीमा रहेका दुई करदाता सेवा कार्यालयमध्ये जनकपुर कार्यालयले लालबन्दी, हरिवन, ईश्वरपुर, हरिपुर, बागमती र बरहथवा गरी छ वटा पालिका तथा मलङ्गवा कार्यालयले बाँकी १४ पालिकाका उद्योगी–व्यवसायी तथा करदातालाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

सबै