सिमरा । बाराको प्रसौनी गाँउपालिका–६ भलुहीस्थित किरण वेभरेज नेपाल प्रालि पानी उद्योगका व्यवस्थापक सर्लाही धनकौल गाउँपालिका-२ का ५० वर्षीय राम किशोर सिंहको हत्या उनकै सहकर्मीबाट भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले घटना भएको दुई दिनपछि आइतबार घटनाबारे विज्ञप्तिमार्फत जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय बाराले व्यवस्थापक राम किशोरको हत्यामा उनकै सहकर्मी वीरगञ्ज महानगरपालिका–२२ बस्ने २१ वर्षीय राजन कुमार राम र सोही ठेगाना बस्ने ३२ वर्षीय प्रमोद साह तुरहाले गरेको अनुसन्धानबाट पत्ता लगाएको छ । उनीहरूले कामबाट निकालेको रिसमा रामकिशोरको हत्या गरेको प्रहरीले खुलाएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका राजन कुमार राम र प्रमोद साह तुहार र रामकिशोर सिंह शुक्रबार साँझ सँगै बसेर मदिरा सेवन गरेका थिए ।
प्रमोद फ्याक्ट्रीमा चालकका रूपमा कार्यरत थिए । गत वर्षको गढीमाई मेलामा गाडीको क्लच प्लेट बिग्रिएपछि राम किशोर र राजन कुमार रामबिच झगडा भएको थियो । त्यसपछि राजनकुमारले काम छाडेका थिए ।
चालकले पुनः काम गर्दा फ्याक्ट्रीले तोकेको पानीको बिक्री मूल्य ११० रुपैयाँलाई राजन कुमार रामले आफ्नो व्यक्तिगत मुनाफाका लागि बजारमा ११५ र १२० रुपैयाँमा बेच्दै आएको राम किशोरले थाहा पाए । त्यसपछि विवाद भयो ।
यसै कारण राजन कुमारलाई पुनः कामबाट हटाइएको थियो । यसै विषयलाई लिएर विवाद बढेपछि हत्याको योजना बनेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना भएकै दिन उनीहरू दुवैलाई पक्राउ गरेको हो । उनीहरूलाई कर्तव्य ज्यान कसुर मुद्दामा आइतबार बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।