रौतहटमा सवारी दुर्घटनामा परी सर्लाहीका एकै परिवारका सातजना घाइते

रौतहट । रौतहटको सदरमुकाम चन्द्रनिगाहपुर-गौर सडकखण्डअन्तर्गत सुकदेव चौक र जयनगरको बीचमा बुधबार दिउँसो भएको दुर्घटनामा एकै परिवारका ७ जना घाइते भएका छन्।

चन्द्रनिगापुरबाट गौरतर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ह १०७४ नम्बरको ई-रिक्सा र विपरीत दिशाबाट आइरहेको बीआर ०६ जिजी ५४०४ नम्बरको पिकअप एकआपसमा ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेमा ई-रिक्सा चालक यमुनामाई-४ सरुअठाका ३४ वर्षीय जनसेद आलम दुवै हातखुट्टा तथा टाउकोमा गम्भीर चोट लागेर नेपाल तराई अस्पताल सुकदेवचोकमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

ई-रिक्सामा सवार सर्लाहीको बरहथवा-२ का नागेन्द्र बैठाको परिवार घाइते भएको प्रहरीले जनाएको छ।

उनकी श्रीमती २७ वर्षीया रिन्कु बैठाको टाउको तथा हातखुट्टामा चोट लागेर शिवदर्शन अस्पतालमा उपचाररत रहेकी छिन्।

उनकी छोरी ७ वर्षीया अनुश्का बैठा दुवै खुट्टा फ्र्याक्चर भई टाउकोमा चोट लागेर गम्भीर अवस्थामा रहेकी छन्। थप उपचारका लागि उनलाई वीरगन्ज पठाइएको छ।

अर्की छोरी ५ वर्षीया अन्निया बैठाको टाउकोमा चोट लागेर शिवदर्शन अस्पतालमै उपचाररत छिन्।

त्यसैगरी नागेन्द्र बैठाका छोरा ३ वर्षीय आयुष बैठाको टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको र शिवदर्शन अस्पतालमा उपचार भइरहेको बताइएको छ। अर्का छोरा १८ महिनाका रोमन बैठाको समेत टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

सोही ई-रिक्सामा रहेका माधवनरायण-सखुवबाका २० वर्षीय रामविश्वास बैठा पनि टाउकोमा चोट लागेर मध्यम अवस्थामा उपचाररत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि पिकअप चालक भारत, बिहार-सीतामढी, डुमरा-बडहरवाका ३१ वर्षीय सन्तोषकुमार साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडातर्फ पठाइएको छ।

दुवै सवारीसाधन प्रहरीचौकी सुकदेवचोकले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै