गोडैता । सर्लाही जिल्लाको गोडैता नगरपालिका–४, रोहुवास्थित उखु खेतीमा सोमबार दिउँसो भीषण आगलागी हुँदा करिब ५० देखि ६० बिघा क्षेत्रफलमा फैलिएको उखु बाली पूर्ण रूपमा नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यो आगलागी स्थानीय किसान मुना चौँधरीको उखु खेतबाट सुरु भएको थियो र विद्युतको तार सर्ट भएर भएको थियो ।

नगर प्रमुख देबेन्द्र यादवले दिएको जानकारी अनुसार, प्रारम्भिक अनुमान अनुसार यस आगलागीबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै, सामाजिक अभियन्ता नितेश राउतले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा करिब १५० जना किसानले संयुक्त रूपमा दुई करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति व्यहोर्नु परेको प्रारम्भिक अनुमान गरिएको उल्लेख छ। प्रहरीले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।
यस आगलागीले दर्जनौँ किसानको उखु बाली जलेर नष्ट भएको छ। यसअघि खडेरी, त्यसपछि भीषण बाढी र अहिले काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखुबाली आगलागीले नष्ट भएपछि स्थानीय किसानको जीवनयापनमै गहिरो असर परेको छ। उखु खेतीमा निर्भर किसान परिवारहरूको जीविकोपार्जनमा गम्भीर असर परेको छ।
नगर प्रमुख यादवले आगलागीबाट प्रभावित किसानहरूका लागि नेपाल सरकार तथा मधेश प्रदेश सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका छन्। साथै, उनले सम्पूर्ण नगरवासीलाई आगलागीको जोखिम न्यूनीकरण गर्न बाटो तथा खेतबारी आसपास पराल, पत्थर वा ज्वलनशील वस्तु नराख्न आग्रह गरेका छन्।
काठमाडौंमा बसोबास गर्दै आएका सर्लाहीका सामाजिक अभियन्ता नितेश राउतले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै गोडैता नगरपालिका–४ रोहवामा भएको आगलागीबाट भएको ठूलो क्षतिबारे जानकारी गराएका छन्।
ज्ञापनपत्रमा पीडित किसानहरूलाई तत्काल आर्थिक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। साथै, बीउ, मल, कृषि उपकरणसहित आपतकालीन कृषि प्याकेज प्रदान गर्न, प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाई आगलागी जोखिम न्यूनीकरण तथा सुरक्षित कृषि अभ्यासबारे सहयोग गर्न पनि आग्रह गरिएको छ।