माघ १६ देखि लालबन्दीमा मेयर गोल्डकप सुरु हुने

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकामा आयोजना हुने मेयर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेदेखि सुरु हुने भएको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराइएको हो ।

नगरपालिकाको मुख्य प्रायोजन र जिवेश्वर युवा क्लब नवलपुरको आयोजनामा हुने प्रतियोगिताले स्थानीय तथा क्षेत्रीय खेलकुद विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

लालबन्दी-१ नवलपुरस्थित खेल मैदानमा हुने प्रतियोगितामा विभिन्न जिल्लाका १२ प्रतिस्पर्धी टोलीहरूको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा जिवेश्वर युवा क्लब लालबन्दी, वीरगन्ज युनाइटेड पर्सा, रतनपुर युनाइटेड युथ क्लब बारा, नेपाल खेलकुद क्लब रौतहट, ब्याखाडी युवा क्लब महोत्तरी, धनुषा-११ धनुषा, गोलबजार स्पोर्ट्स क्लब सिरहा, न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरी, गाईघाट युवा क्लब उदयपुर, इनरुवा फुटवल क्लब सुनसरी, भरतपुर फुटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल संघ हेटौँडाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसका लागि लालबन्दी नगरपालिकाबाट सात लाख, लालबन्दी वडा नम्बर १ बाट पाँच लाख तथा विभिन्न संघसंस्था र स्थानीय स्रोतबाट आर्थिक सहयोग प्राप्त हुने क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई ३ लाख रुपैयाँ नगदसहित ट्रफी तथा दोस्रो हुने टोलीलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडीलाई ६१ हजार ३ सय ४० रुपैयाँ प्रदान गरिने छ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद प्रदान गरिने छ भने विभिन्न विधाका खेलाडीलाई समेत पुरस्कृत गरिने जनाएको छ ।

मेयर गोल्डकपले युवा खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने र लालबन्दीलाई खेलकुदको पहिचान दिलाउन मद्दत गर्ने विश्वास आयोजकको छ । स्थानीय खेलप्रेमी दर्शकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीको हौसला बढाउन आयोजकले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सबै