हरिवन । प्रहरीका उच्च अधिकारीहरूसँग आफ्नो पहुँच रहेको भन्दै धाकधम्की दिने एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ बेल्डी टोल बस्ने २९ वर्षीय रमेश गिरी भनिने झन बहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गिरीले सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ कर्मैयास्थित एक होटलमा पुगेर वितण्डा मच्चाएका थिए। पुस २६ गते दिउँसो प्रेम घिसिङले सञ्चालन गरेको न्यु कालिका होटल एण्ड गेस्ट हाउसमा पुगेका गिरीले खाजा नास्ता र मदिरा सेवन गरेपछि विवाद सुरु गरेका थिए।
होटलमा सञ्चालकका भाइ लाल बहादुर घिसिङ रहेको अवस्थामा गिरीले आफू प्रहरीको उच्च ओहोदाका व्यक्तिहरूसँग निकट रहेको भन्दै धाकधम्की दिएका थिए। उनले होटलमा रहेका व्यक्तिहरूलाई डर त्रास देखाउनुका साथै हातपातको प्रयास समेत गरेको प्रहरीले जनाएको छ।
उनीमाथि इलाका प्रहरी कार्यालय हरिवनबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।