जनकपुर । होटलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरू पक्राउ परेका छन् ।
जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही–३ का रास्वपा कार्यकर्ताहरूले धर्ना दिएर विरोध प्रदर्शन गरेका थिए । तर प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
विरोध प्रदर्शनमा उत्रेका सर्लाही–३ का रास्वपा कार्यकर्ता दीपक महतोसहित चार जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, धनुषा लगिएको छ ।
रास्वपाको उम्मेदवार छनोट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेका डाक्टर अमरेश कुमार सिंहलाई टिकट दिइएको भन्दै उनीहरूले विरोध जनाएका थिए।
उनीहरूको आरोप छ कि सभापति लामिछानेले कार्यकर्ताको आवाज नसुनी होटलमै बसेर अपारदर्शी ढंगले टिकट बाँडेका छन्।
धर्नामा बसेका कार्यकर्ताको कुरा नसुनी सभापति लामिछाने होटलबाट बाहिरिएका थिए। यस घटनाले कार्यकर्ताको आक्रोश झनै चर्किएको बताइएको छ।