बलरा । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा सबैको चासो बढेको छ ।
नेपाली कांग्रेसभित्र लामो राजनीतिक विरासत बोकेका शेरबहादुर देउवालाई वैधानिक तवरले पदबाट हटाएर सभापति बनेका गगनकुमार थापा सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
२०७० देखि काठमाडौँ–४ बाट लगातार निर्वाचन जित्दै आएका थापाले यस पटक निर्वाचन क्षेत्र परिवर्तन गरी मधेसको सर्लाही-४ बाट उम्मेदवारी दिएकाले पनि सबैले चासो देखाएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद् बनेर उनले संसदीय यात्रा थालेका थिए ।
पुस २७–३० मा विशेष महाधिवेशनबाट सभापति देउवालाई हटाएर थापा सभापति भएका थिए । विशेष महाधिवेशनको निर्णय निर्वाचन आयोगले वैधानिकता दिएको थियो । आयोगको निर्णय विरुद्ध देउवा समूह सर्वोच्च अदालत गएको थियो । तर सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलले देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मागदाबी अस्वीकार भएपछि थापालाई राहत मिलेको छ ।
कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि बढाएको छ । पार्टी नेतृत्व कब्जा गर्न सफल भएका थापाले यो चुनाव जित्नैपर्ने बाध्यता छ । उनलाई कांग्रेसका पूर्वनेता डा. अमरेशकुमार सिंहले चुनौती दिएका छन् । एमालेले रवि सिंह कुशवाहलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले रगनीश राय यादवलाई उम्मेदवार बनाएको छ ।
२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार सिंहले २० हजार १७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत प्राप्त प्राप्त गरे । अर्की स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् ।
यस क्षेत्रमा बरहथवा नगरपलिकाका वडा नम्बर १, २, ३, ४, १३, १४ र १५, बसबरिया गाउँपलिकाका वडा नम्बर १, २ र ३, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, गोडैता नगरपालिका र विष्णु गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ पर्छन् ।