मुक्तेश्वर महादेवमा पूजा गरी गगन थापाले थाले चुनावी प्रचार प्रसार

बरहथवा । आगामी निर्वाचनको तयारीमा रहेका नेपाली कांग्रेसका सभापति आफूले उम्मेदवारी दिएको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ पुगेका छन् ।

सोमबार दिसँसो सर्लाही पुगेका थापाले जिल्लाको प्रसिद्ध धार्मिक तथा सांस्कृतिकस्थल मुक्तेश्वर महादेव मूर्तियाको दर्शन गरी चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् । उनले यस क्रममा स्वच्छ राजनीति, विकास र जनताको भरोसा जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावपछि पुनः सोही मन्दिरमा फर्कने पनि उनले बाचा गरेका छन् । 

मुक्तेश्वर महादेव मूर्तिया विशेषगरी भगवान् शिवको प्राचीन मन्दिरका रूपमा चिनिन्छ । हरेक वर्ष महाशिवरात्रि, तीज र साउन महिनामा यहाँ ठुलो संख्यामा भक्तजनहरू दर्शन गर्न आउने गर्छन् । स्थानीय जनविश्वासअनुसार मुक्तेश्वर महादेवमा सच्चा मनले पूजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ । यो स्थान सन्तान प्राप्ति, रोग–व्याधि निवारण, मनोकामना पूर्तिका लागि टाढा–टाढाबाट आउने भक्तजनहरूको आस्थाको केन्द्र बनेको छ। 

चुनावी अभियान तथा कार्यकर्ता भेटघाटका क्रममा मुक्तेश्वर महादेव पुगेका थापाले मन्दिरमा विधिपूर्वक पूजाअर्चना गरेका थिए । यस क्रममा उनले देश र जनताका लागि काम गर्ने, स्वच्छ राजनीतिक संस्कार स्थापित गर्ने र सर्लाही क्षेत्रको चौतर्फी विकास गर्ने बाचा गरे । थापाले भने, ‘म मुक्तेश्वर महादेवलाई साक्षी राखेर बाचा गर्छु कि यदि मलाई यहाँका जनताले सेवा गर्ने अवसर दिनुभयो भने, चुनावपछि पुनः यसै मन्दिरमा आएर जनताप्रति गरेका सबै बाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नेछु ।’ 

कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रममार्फत थापाले मतदातासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै आफ्नो भावी योजना र प्रतिबद्धताबारे जानकारी गराइरहेका छन् ।

सम्बन्धित समाचार

सबै