रास्वपा सर्लाहीद्वारा क्षेत्र नम्बर ३ का उम्मेदवार कालोसूचीमा रहेको समाचार खण्डन

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही जिल्ला समितिले आफ्ना उम्मेदवारबारे एक अनलाइन पत्रिकामा प्रकाशित भ्रामक समाचारको आज खण्डन गरेको छ ।

पार्टीले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार नरेन्द्र साह कलवारलाई कालोसूचीमाु राखिएको भन्दै रातोपाटी अनलाइन पत्रिकामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पार्टीले आज फागुन २० गते एक प्रेस विज्ञप्ति जारी गर्दै रातोपाटी अनलाइन पत्रिकाले सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालो सूचीमाु शीर्षकमा प्रकाशित समाचार भ्रामक र तथ्यहीन भएको बताएको छ। विज्ञप्ति अनुसार, रास्वपाको तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ को प्रत्यक्ष तर्फका उम्मेदवार श्री नरेन्द्र साह कलवारले आफ्नो मनोनयन दर्ता गरेको दिन २०८२ माघ ०६ गते नै कर्जा सूचना केन्द्र लिमिटेडले पत्र संख्या ५८७/०८२/०८३ मार्फत उनी कालोसूचीमा नरहेको जानकारी गराएको थियो।

तर, रातोपाटीले भने २०८१ भदौ ०५ गते नै उम्मेदवार कलवारलाई कालोसूचीमा राखिएको भन्दै समाचार प्रकाशन गरेको र सो सामग्री झुठो रहेको स्वतः प्रमाणित हुने पार्टीको दाबी छ।

निर्वाचनको पूर्व सन्ध्यामा आएको यस्तो भ्रामक समाचारको रास्वपा सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ समिति र जिल्ला कार्य समितिले घोर भत्सर्ना गरेको छ।

पार्टीले सम्बन्धित अनलाइन पत्रिका (रातोपाटी) लाई उक्त समाचार यथाशीघ्र सच्याउनसमेत अनुरोध गरेको छ। साथै, पार्टीले सम्पूर्ण क्षेत्रवासी मतदाताहरू र सर्वसाधारणलाई यस्ता भ्रामक समाचारको पछि नलाग्न समेत आग्रह गरेको छ।

विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाही क्षेत्र नं. ३ का सभापती रत्न प्रसाद भट्टराई र जिल्ला सभापती सरोज बानियाँले हस्ताक्षर गरेका छन्।

सम्बन्धित समाचार

सबै