
बर्दिबासः महोत्तरीको बर्दिबासबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो। बसमा २८ जना सवार थिए। प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
हाल प्रहरी घटनास्थलमा खटिइसकेको र उद्धार जारी रहेको प्रहरीको भनाइ छ।