सिमरा:बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित डुमरवाना–बडहर्वा सडकखण्डमा मंगलबार भएको सडक दुर्घटनामा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार रौतहटको संग्रामपुर घर भई हाल जीतपुरसिमरा–२ मा बसोबास गर्दै आएका ६१ वर्षीय केदारप्रसाद शर्मा दुर्घटनामा परेका हुन्। उनी आफैंले चलाएको प्र ०२–०३–००७ प २३४१ नम्बरको मोटरसाइकलमा डुमरवानाबाट बडहर्वातर्फ जाँदै गर्दा सोही दिशामा गुडिरहेको ना ७ त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
ठक्करको झट्कापछि मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको प्र ०२–०३–००१ त ५६१५ नम्बरको अर्को ट्याक्टरमा समेत ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई तत्काल वीरगञ्जस्थित मेडिसिटी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश भट्टले जानकारी दिए।
शर्मा लामो समयसम्म पथलैया, सिमरालगायत जीतपुरसिमरा क्षेत्रका विभिन्न विद्यालयमा अध्यापन गराएका पूर्वशिक्षक हुन्।