बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, सह-चालक र सवारी धनी पक्राउ

सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा एक तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा ती बालिकालाई चकलेटको प्रलोभन देखाएर जबरजस्ती करणी (बलात्कार) गरेपछि हत्या गरिएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले खाली घरभित्र बालिका मृत फेला परेकी थिइन्।

पहिचान नखुलेको अवस्थामा शव फेला परेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्री र जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको विशेष टोली समेत परिचालन गरिएको थियो।

प्रहरी अनुसन्धानबाट मृत फेला परेकी बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको छ। उनी यही साउन ३१ गते बिहान करिब ८ः३० बजे घरैबाट हराएकी थिइन्।

चकलेटको प्रलोभन देखाएर बलात्कार र हत्या

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जितपुरसिमरा–२ बस्ने भीमसेन थापाका छोरा तथा ना.१.ज ७७५८ नम्बरको म्याजिक गाडीका सह-चालक १६ वर्षीय सुमन थापाले ती बालिकालाई चकलेट दिएर फकाई-फुल्याई घटनास्थलमा पुर्‍याएका थिए।

त्यहाँ उनले बालिकालाई जबर्जस्ती करणी गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सह-चालक सुमन थापा र उक्त म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाबारे थप विस्तृत अनुसन्धान भइरहेको छ। मृतक बालिकाको शवलाई पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै