मलङ्गवा । सर्लाही जिल्लामा भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको भन्दै यहाँका क्रियाशील राजनीतिक दलहरूले आपत्ति जनाएका छन् । आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सातवटा राजनीतिक दलले प्रशासनको कदमप्रति विरोध जनाउँदै आन्दोलनको चेतावनी दिएका हुन् ।
विगत लामो समयदेखि भारतीय नम्बर प्लेटका गाडीहरू सीमा क्षेत्रबाट ३० किलोमिटरसम्म सहज रूपमा आवतजावत गरिरहेकोमा हाल प्रशासनले शान्ति सुरक्षाु को बहाना बनाएर अवरोध सिर्जना गरेको दलहरूको आरोप छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय सर्लाहीले नियोजित तरिकाले भारतीय नम्बर प्लेटका गाडी बन्द गर्ने र विना भन्सार चलाउन नदिने मानसिकता देखाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
दलहरूले भारतीय गाडीहरूलाई पूर्ववत् अवस्थामै सहज रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन माग गरेका छन् । यदि प्रशासनले आफ्नो निर्णय नसच्याए र माग पूरा नगरे चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।
संयुक्त विज्ञप्तिमा नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जसपा नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, रा।मु।पा। नेपालका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव र उज्यालो नेपालका जिल्ला उपाध्यक्ष राम स्वार्थ महतोले हस्ताक्षर गरेका छन् ।
प्रशासनको यो नयाँ नियमले सीमावर्ती क्षेत्रका सर्वसाधारणको जनजीवन र व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय स्तरमा समेत असन्तुष्टि बढ्दै गएको छ ।
