मलंगवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले विदेशी नम्बर प्लेटका सवारी साधनको सञ्चालनमा निगरानी बढाउँदै नयाँ नियममा कडाइ गरेको छ।
‘भन्सार महसुल ऐन २०८१’ र ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरीले विदेशी सवारी साधनका लागि नयाँ प्रावधानहरू लागू गरेको हो।
नयाँ नियम अनुसार अब नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनले अनिवार्य रूपमा दैनिक भन्सार शुल्क तिर्नुपर्नेछ। जिल्ला ट्राफिक कार्यालयका अनुसार मोटरसाइकल तथा स्कुटरका लागि दैनिक २०० रुपैयाँ, तीन पाङ्ग्रे सवारीका लागि ४०० रुपैयाँ र कार, जिप तथा भ्यानका लागि ६०० रुपैयाँ शुल्क तोकिएको छ। यस्ता सवारी साधनले एक आर्थिक वर्षमा बढीमा ३० दिन मात्र नेपालमा सञ्चालन अनुमति पाउनेछन्।
कडा जरिवाना र जफतको प्रावधान
निर्धारित समयसीमा भन्दा बढी सवारी सञ्चालन गरेमा कडा जरिवानाको व्यवस्था गरिएको छ। अनुमति बिना वा म्याद नाघेर चलाइएका मोटरसाइकल र स्कुटरलाई दैनिक १,२०० रुपैयाँ तथा अन्य चार पाङ्ग्रे सवारी साधनलाई दैनिक २,५०० रुपैयाँ जरिवाना लाग्नेछ।
प्रहरीले दिएको जानकारी अनुसार, भन्सार शुल्क नबुझाई ७ दिनभन्दा बढी समयसम्म नेपालमा राखिएका विदेशी सवारी साधनलाई सिधै जफत गरिनेछ। साथै, बिना अनुमति सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले ५,००० रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान समेत राखिएको छ।
मलंगवा बजार आउनेलाई सहुलियत
भारतीय सीमावर्ती क्षेत्र मलंगवा बजारसम्म आउने भारतीय सवारी साधनका लागि भने केही सहुलियत प्रदान गरिएको छ। घरायसी प्रयोजन वा बजार भर्नका लागि आएर सोही दिन फर्कने सवारी साधनले शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ। तर, त्यस्ता सवारी साधनले पनि सीमास्थित भन्सार कार्यालयबाट अनिवार्य रूपमा ‘सवारी पास’ भने लिनुपर्नेछ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले कानुनको पालना गर्न र जरिवाना तथा जफत जस्ता कानुनी कारबाहीबाट बच्न सबै विदेशी सवारी धनीहरूलाई अनुरोध गरेको छ।
यो नियम कडाइका साथ लागू भएपछि सीमा क्षेत्रमा हुने सवारी साधनको अनियन्त्रित चाप र राजस्व चुहावट नियन्त्रण हुने विश्वास लिइएको छ।