सर्लाहीमा एक महिनामा १३२ अपराध दर्ता, ९६ पक्राउ – १८ जनाले झुण्डिएर ज्यान गुमाए

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०८२/०८३ को चैत महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार एक महिनाको अवधिमा जिल्लाभर १३२ वटा अपराध दर्ता भएका छन् भने ९६ जना प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । त्यस्तै, जघन्य तथा गम्भीर प्रकृतिका बैंकिङ कसूर, जुवातास, ठगी तथा हातहतियारसम्बन्धी गरी ३५ वटा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले चालु मुद्दाहरूको अनुसन्धानलाई तीव्रता दिँदै १५ वटा पेण्डिङ मुद्दा सबै फर्छ्योट गरेको जनाएको छ । फैसला कार्यान्वयनतर्फ ५ जना पक्राउ परेका छन् भने उनीहरूबाट ८ वर्ष ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी परेकोमा सबैभन्दा बढी २६ देखि ४० वर्ष उमेर समूहका पीडित रहेका छन् । हराएका ३२ जनामध्ये १६ जना फेला पारिएको प्रहरीले जनाएको छ ।

घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ भने लागूऔषध नियन्त्रणतर्फ ३७३.९५० केजी गाँजासहित अन्य लागूऔषध बरामद गर्दै ८ जना पक्राउ गरिएको छ ।

यसैबीच, चैत महिनामा १८ जनाले झुण्डिएर ज्यान गुमाएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । यस्तो घटना विशेषगरी १६–२५ र २६–३५ वर्ष उमेर समूहमा बढी देखिएको छ ।

शान्ति सुरक्षा कायम गर्न प्रहरीले व्यापक रूपमा गस्ती र चेकजाँच सञ्चालन गरेको जनाएको छ । एक महिनामा ९,२१० वटा ड्युटी परिचालन गर्दै १८,४२० जना जनशक्ति खटाइएको छ ।
सवारी दुर्घटनातर्फ ९६ वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु र १२९ जना घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण चालकको लापरवाही रहेको प्रहरीको विश्लेषण छ । ट्राफिक कारबाहीबाट १३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।

त्यसैगरी, राजस्व चुहावट नियन्त्रणका क्रममा करिब ७ लाख ७७ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने ८० लिटर अवैध मदिरा नियन्त्रणमा लिइएको छ ।

समुदाय–प्रहरी सहकार्यलाई सुदृढ गर्दै आगामी दिनमा अपराध नियन्त्रणका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवले बताए ।

सम्बन्धित समाचार

सबै