सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रामनगर । सर्लाहीको रामनगर गाउँपालिका–५, बैजनाथ चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ।

बरहथवाबाट गडहियातर्फ आउँदै गरेको ज. ७ प. २६१३ नम्बरको मोटरसाइकल गएराति ८ बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक भारतको सितामढी जिल्ला ग्राम
पञ्चायत ढेग बस्ने अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए। टाउको, अनुहार र कानमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकामा उपचारका क्रममा राति ८:४३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही मोटरसाइकलको पछाडि सवार सोही स्थानका २३ वर्षीय उज्वल पटेल मध्यम घाइते भएका छन्। घाइते उज्वललाई थप उपचारका लागि राति नै भारतको सितामढी लगिएको छ। प्रहरीका अनुसार हाल उनको सितामढीस्थित बैजनाथ नर्सिङ होमको आसियुमा उपचार भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक कैलाश चौधरीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै