लालबन्दी : नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेर जागिर खाएको भन्दै महोत्तरीका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बलवा नगरपालिका वडा नं ९ धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटामा शिक्षक पदमा कार्यरत अशोककुमार साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ।
नक्कली प्रमाण पत्रका आधारमा साहले राष्ट्रिय प्राथमिक विद्यालय महोत्तरीमा २०६९ असोजदेखि राहत शिक्षक अनुदान कोटामा नियुक्ति लिएका थिए।
उनले नक्कली विवरण पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।