लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाका दुई युवक सर्लाही, रौतहट, सिन्धुली र मकवानपुरको सीमा क्षेत्रमा रहेको बागमती नदीमा डुबेर बेपत्ता भएका छन्।
शनिबार अपरान्ह ४ बजेदेखि लालबन्दी-५ का २१ वर्षीय गणेश महतो र लालबन्दी-९ का १८ वर्षीय रोहित महतो बेपत्ता भएका हुन्। आइतबार बिहानसम्म पनि उनीहरूको अवस्था अज्ञात रहेको छ।
मकवानपुरतर्फ पर्ने पुल क्षेत्रबाट सिन्धुलीतर्फको बाटो हुँदै सर्लाही आउने क्रममा उनीहरू बागमती नदी तर्दा डुबेका थिए। उनीहरूसँगै गएका अन्य तीन जना युवक भने पौडी खेलेर रौतहटको नुनथरतर्फ निस्कन सफल भएका थिए।
यस क्षेत्रमा नुहाउन र पौडी खेल्ने क्रममा पटकपटक दुर्घटना भई मानिसको ज्यान जाने गरेको छ। स्थानीय प्रशासनबीच समन्वयको अभावका कारण बेपत्ता युवकहरूको खोजी कार्य प्रभावकारी हुन नसकेको भन्दै परिवारजनले गुनासो गरेका छन्।
बेपत्ता भएका युवकहरूको खोजीका लागि बागमती पुगेका लालबन्दीका स्थानीय प्रशान्त आचार्यले तत्काल खोजी कार्य अघि बढाउनुपर्नेमा एक जिल्लाले अर्को जिल्लालाई देखाउने काम मात्र भइरहेको बताए।
शनिबार साँझपख सर्लाही र रौतहटतर्फका प्रहरीले सामान्य खोजी गरे पनि आइतबार बिहान ९ बजेसम्म गोताखोरसहितको प्रहरी परिचालन हुन नसकेको उहाँले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय रौतहटले भने प्रहरी चौकी पौराही र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले बेपत्ता युवकहरूको खोजी गरिरहेको जनाएको छ। रौतहटका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहित शर्माले घटनास्थल मकवानपुरतर्फ पर्ने बताए।
यस्तै, सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले इलाका प्रहरी कार्यालय बागमतीसहितको प्रहरी युनिटले बेपत्ता युवकहरूको खोजी गरिरहेको जानकारी दिए।
स्थानीय प्रशासनबीचको समन्वयको अभावका कारण बेपत्ता युवकहरूको खोजी कार्यमा ढिलासुस्ती भइरहेको र परिवारजन चिन्तित अवस्थामा रहेका छन्।