सर्लाही : सर्लाहीको बलरा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षीया बालिकाको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब १२ बजे बलरा नगरपालिका-६ मिर्जापुरस्थित भित्री सडक खण्डमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना.४ त.८८३४ नम्बरको ट्याक्टरले स्थानीय अर्जुन साहकी छोरी अंकिता कुमारी साहलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
मिर्जापुरस्थित श्री आधारभूत विद्यालयबाट पढेर घर फर्किने क्रममा अंकितालाई सिमेन्ट र छड लोड गरिएको ट्याक्टरले ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्नाहा, छन्किटोला, इलाका प्रहरी कार्यालय बलरा र इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।
तर, ट्याक्टर चालक बलरा नगरपालिका-६ निवासी तेजा साहका करिब १८ वर्षीय छोरा कृष्णकुमार साह भने घटनापछि फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।