सर्लाहीसहित १४ जिल्लामा तातो लहर चल्ने, सतर्क रहन विभागको आग्रह

लालबन्दी । मौसमविद्का अनुसार आगामी तीन दिनसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना छ।

आज भैरहवामा ४१ डिग्री सेल्सियस र नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

महाशाखाले मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै ठाउँमा आगामी तीन दिनसम्म मध्यम तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँमा तातो दिनको सम्भावना रहेकाले गर्मीबाट जोगिने उपायहरू अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

सतर्क रहनुपर्ने जिल्लाहरू:

विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट-सुस्तापश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्नसक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

अद्यावधिक रहनुपर्ने जिल्लाहरू:

कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट-सुस्तापूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचनाहरू हेर्न अनुरोध गरिएको छ।

गर्मीबाट जोगिने उपायहरू:

तातो हावा तथा तातो लहरबाट थकान, कमजोरी, बढी तिर्खा, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र वान्ता हुनेजस्ता लक्षणहरू देखिनसक्ने भएकाले, विभागले निम्न उपायहरू अपनाउन सुझाव दिएको छ:

१. बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने।
बाहिरी वातावरणमा बढी नजान र चर्को घाममा बाहिर ननिस्कने।

२. हल्का सुतीका कपडा लगाउने।

३.बाहिर निस्कँदा टाउको छोप्न टोपी लगाउने।

४.नियमित रूपमा पानी तथा झोल पदार्थ (जुस, सर्वत) प्रशस्त मात्रामा पिउने।

५. स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गरी सल्लाह लिने।

महाशाखाले गर्मी अत्यधिक बढिरहेकाले विशेष ख्याल गर्न सबैमा अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सबै