सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही जिल्ला समितिले फागुन २९ गतेका लागि तोकिएको जिल्ला अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ। निर्वाचन प्रक्रियामा देखिएका केही प्राविधिक त्रुटि तथा आवश्यक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको हो।
पार्टीका जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोद्वारा हस्ताक्षरित सूचनाअनुसार, जिल्ला समितिले फागुन २९ गते निर्वाचन सम्पन्न गर्ने उद्देश्यले निर्वाचन कार्यक्रम अगाडि बढाएको थियो। तर, निर्वाचन प्रक्रियाका क्रममा पार्टीको विधान, नियमावली तथा निर्धारित प्रक्रियाअनुसार कार्य नभएको गुनासो तथा आपत्ति प्राप्त भएको छ।
विशेष गरी, पालिका अधिवेशनका कागजातहरू अपूर्ण रहेको, निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्टि हुन बाँकी रहेको र स्वीकृत कार्यविधिअनुसार कतिपय प्रक्रियामा प्राविधिक त्रुटि देखिएको हुँदा तत्काल निर्वाचन अगाडि बढाउन असम्भव भएको सूचनामा उल्लेख छ।
“उक्त विषयमा थप विवाद सिर्जना हुन नदिन, सबै पक्षको धारणा सूत्र तथा आवश्यक छानबिन, समन्वय एवं डिजिटल प्रमाणीकरणका लागि आज मिति २०८०/१२/२४ गते हुन गइरहेको जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम हाललाई अर्को सूचना नआउन्जेलसम्मको लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौँ,” सूचनामा भनिएको छ।
यसको बोधार्थ केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय सङ्गठन विभाग, प्रदेश सङ्गठन विभाग र अधिवेशन आयोजक समितिलाई दिइएको छ।