सर्लाहीमा बिग्रिएको हाइसको ठक्करबाट एक महिलाको मृत्यु, अर्की गम्भीर घाइते

गोडैता । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छिन्। दुर्घटना बागमती नगरपालिका– ९, निर्माण चोकस्थित भित्री सडकखण्डमा भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवप्रसाद गौतमका अनुसार, बागमती प्रदेश ०३००१ ज ०७७६ नम्बरको इभी हाइसले पैदल हिँडिरहेका दुई महिलालाई ठक्कर दिएको थियो। मृत्यु हुनेमा बागमती नगरपालिका– ९ निवासी ५५ वर्षीया जयकुमारी देवी हुन्। उनलाई उपचारका लागि वीरगन्ज पठाइएकोमा प्रादेशिक अस्पताल कलैया, बारा पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

घाइते हुनेमा वडा नम्बर १० बस्ने ४० वर्षीया पुनमदेवी यादव छिन्। उनको कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, बिग्रिएको उक्त हाइसलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले तानेर मर्मतका लागि बरहथवा निर्माण चोकतर्फ लैजाँदै गर्दा दुर्घटना भएको थियो।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाइस चालक हरिवन नगरपालिका– ७ बस्ने ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका– १३ बस्ने ३३ वर्षीय विकासकुमार झालाई प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक जयकुमारी देवीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल बारामा राखिएको छ।

सम्बन्धित समाचार

सबै