मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एक मोटरसाइकललाई शंकास्पद देखिएपछि चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो।
पक्राउ पर्नेमा रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडु कुमार यादव र २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्। उनीहरू म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकलमा सवार थिए।
प्रहरीका अनुसार उनीहरूको साथबाट एक हजार दरका २,५०० थान नोट (२५ लाख रुपैयाँ), पाँच सय दरका १,३०० थान नोट (६ लाख ५० हजार रुपैयाँ) तथा एक सय दरका ५०० थान नोट (५० हजार रुपैयाँ) बरामद गरिएको छ। बरामद भएको कुल नगद रकम ३२ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।