बागमतीमा बगेर ६ वर्षीय बालक बेपत्ता, अन्य दुई जना भने निस्किन सफल

बागमती । सर्लाहीको बागमती नगरपालिका–७ मा बागमती खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् । अन्य तीन जना भने सकुशल बाहिर निस्कन सफल भएका छन् ।

बागमती खोलामा पौडी खेल्न गएका बागमती नगरपालिका–७ का सरगम माझीका छोरा ६ वर्षीय सफल माझी बाढीले बगाएर बेपत्ता भएका हुन् । बालक शुक्रबार साँझदेखि बागमतीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।

गौतमका अनुसार बालक नदीले बगाएर बेपत्ता भएकोबारे शनिबार बिहान साढे ६ बजेतिर मात्र प्रहरीमा खबर प्राप्त भएको थियो । बेपत्ता बालकको खोजीका लागि शनिबार बिहानैदेखि स्थानीय बासिन्दा, प्रहरी चौकी राजघाट, इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी र सशस्त्र प्रहरी परिचालन भइरहेका उनले बताए ।

सफलसँगै पौडी खेल्न गएका अन्य तीन बालक भने सकुशल बाहिर निस्किएर शुक्रबार साँझ नै घर फर्किएका छन् । बर्खा लागेर बागमती नदीसहित जिल्लाका अन्य खोला र खोल्सामा अकस्मात बाढी आउन थालेकाले सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सबै