विभिन्न मुद्दाका १४ जना फरार प्रतिवादीहरू सर्लाहीबाट पक्राउ

मलंगवा । जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला सुनाइएका तर सजाय भुक्तान नगरी फरार रहेका व्यक्तिहरूलाई प्रहरी टोलीले खोजतलास गरी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका सबै १४ जनालाई सोमबार असार १० गते आवश्यक कारबाहीका लागि सर्लाही जिल्ला अदालतमा बुझाइएको छ ।

पक्राउ पर्नेहरू र उनीहरूमाथिको अभियोगः

प्रहरीले सार्वजनिक गरेको नामावली अनुसार पक्राउ पर्नेहरूमा लागु औषध, मोबाइल चोरी, कुटपिट, आपराधिक उपद्रव र गर्भपतन जस्ता गम्भीर मुद्दाका दोषीहरू रहेका छन् ।

१। आनन्द कुमार रायस् बागमती न।पा. ६ का रायमाथि लागु औषध र मोबाइल चोरीका तीनवटा छुट्टाछुट्टै मुद्दा थिए । उनलाई कैद र जरिवाना दुवै फैसला भएको थियो ।

२। कृष्ण कुमार राय गर्भपतन मुद्दामा ६ महिना कैद र ५ हजार जरिवाना तोकिएका उनी चक्रघट्टा गा।पा. ६ का बासिन्दा हुन् ।

३। अन्य प्रतिवादीहरूस् कुटपिट मुद्दाका रामधारी राय यादव, आपराधिक उपद्रव मुद्दाका सुरेश यादव, शेख इसराफुल, विजय साह सोनार, शेख ममताज, र विजय साह कलवार पक्राउ परेका छन् । उनीहरूलाई जनही १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

४। लागु औषध मुद्दामा ईश्वरपुर न।पा. १२ का भोला राय यादव, दिप बहादुर बल र चक्रघट्टाका सत्रोधन कु। यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई २० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना तोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको विशेष टोलीले उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो । प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै समाजमा दण्डहीनता अन्त्य गर्ने उद्देश्यले यो अभियान चलाएको जनाएको छ ।

सम्बन्धित समाचार

सबै