घट्यो डिजेल, पेट्रोल र ग्यासको मूल्य

लालबन्दी । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा घटाएको छ । निगमले मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाइ इन्धन र एलपी ग्यासको मूल्य घटाएको हो ।

निगमका अनुसार नयाँ मूल्य दर अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर ४० रुपैयाँ मूल्य घटाइएको छ ।

यसैगरी, आम उपभोक्ताको दैनिक भान्छासँग जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

मूल्य समायोजन भएसँगै अब बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९७ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९५ रुपैयाँ र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २ सय २९ रुपैयाँ पुगेको छ । उपभोक्ताले अब खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न पाउनेछन् ।

मध्यपूर्वमा युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि त्यसकै आधारमा नेपालमा पनि आयल निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरेको हो । यो कटौतीसँगै उपभोक्तालाई बजार मूल्यमा केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

सबै