हरिवनबाट ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद

हरिवन । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३, डाबरी टोलबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध सिरप बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय एक घरबाट उक्त लागुऔषध बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिवन नगरपालिका– ३ डाबरी टोल बस्ने १९ वर्षीय सजन चमारले आफ्नै घरमा लागुऔषध भण्डारण गरी बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले चमारको घरमा रितपूर्वक खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा निज सुत्ने कोठामा लुकाई छिपाई राखिएको अवस्थामा जुटको बोराभित्र लुकाइएको कोडिन फस्फेट एण्ड ट्राइप्रोलिडिन एचसीएल सिरप आरजेटी(एससीईएन लेखिएको २६८ पिस सिरप र प्लास्टिकको बोरा भित्र राखिएको कोडिन फस्फेट एण्ड ट्राइप्रोलिडिन एचसीएल सिरप आरटीएक्स(एससीईएन लेखिएको २४ पिस सिरप फेला परेको थियो ।

प्रहरीले जम्मा २९२ बोतल प्रतिबन्धित सिरप बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ।

हाल फरार रहेका आरोपी सजन चमारको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै