पार्टीविरोधी गतिविधि गरेको भन्दै चन्द्रनगर गाउँपालिका अध्यक्षलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

लालबन्दी । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोसँग लिखित स्पष्टीकरण माग गरेको छ ।

पार्टीको अनुशासन उल्लंघन गरेको तथा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउने गतिविधिमा संलग्न रहेको आरोपमा समितिले उनलाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा जारी पत्रअनुसार, गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा चुनावी सभा, सम्मेलन तथा पार्टीका बैठकहरूमा सहभागी नभएको र पार्टीका उम्मेदवारलाई पराजित गर्ने गतिविधिमा संलग्न रहेको भन्दै महतो विरुद्ध उजुरी परेको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शम्भुलाल श्रेष्ठले महतो विरुद्ध कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी दर्ता गराएका थिए ।

उक्त उजुरीका आधारमा नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ३४ को उपधारा १ (क), (ख), (ग) र (घ) बमोजिम अनुशासन उल्लंघनको कसुरमा किन कारबाही नगर्ने भनी प्रश्न गरिएको छ ।

कारबाही नगर्नुपर्ने कुनै मनासिब आधार वा कारण भए विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम पत्र प्राप्त भएको ५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

सबै