हरिवनबाट लागुऔषधसहित दुई जना पक्राउ

हरिवन । सर्लाहीको हरिवन नगरपालिका–३, डाबरीबाट प्रहरीले विभिन्न प्रकारका लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लागुऔषधको बढी प्रभाव रहेको र यसको अवैध बिक्री वितरण हुने क्षेत्र (हट स्पट) का रूपमा चिनिएको उक्त स्थानमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका–३ बस्ने २३ वर्षीय कृष्ण प्रजा र सोही स्थानका २३ वर्षीय मनोज मुक्तान रहेका छन् ।

प्रहरी टोलीले उनीहरूको साथबाट र वरपरका शंकास्पद घर तथा बगैँचामा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध ओनेक्सेक्स २६ बोतल, स्पास्मोप १८ पातामा रहेको १४४ ट्याब्लेट र नाइट्राजेपाम १३ पातामा रहेको १३२ ट्याब्लेट बरामद गरेको छ ।

यसैगरी प्रहरीले दुई सय ग्राम खुकुलो गाँजा, कागजले बेरिएको १४ प्याकेटमा रहेको १८० ग्राम गाँजा र ओनेक्सेक्सको ३०० थान खाली बोतल समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार रबिन्द्रनाथ पौडेलको कमाण्डमा खटिएको १७ जनाको प्रहरी टोलीले उक्त अपरेसन चलाएको थियो ।

लागुऔषध नियन्त्रणमा लिनुका साथै प्रहरीले सोही स्थानमा भेला भएका करिब ६० जना स्थानीयलाई सहभागी गराई लागुऔषध विरुद्धको कानुनी प्रावधान र यसका असरहरूका बारेमा अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै