धनकौल । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालकहरू शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्।
उखुको भुक्तानी लामो समयसम्म पनि नपाएको भन्दै पीडित किसानहरूले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उखु खरिद गरेबापतको रकम लामो समयदेखि भुक्तानी नगरेपछि मिल प्रशासनप्रति किसानहरू लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए।
पटक-पटक ताकेता गर्दा पनि बक्यौता रकम भुक्तानी नभएपछि पीडित किसानहरूले कानुनी कारबाहीका लागि प्रहरीमा उजुरी दर्ता गराएका थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले ठगीको आरोपमा मिलका दुवै सञ्चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
डीएसपी गौतमका अनुसार किसानहरूले दिएको ठगीसम्बन्धी उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइने छ। वर्षौंदेखि आफ्नो पसिनाको मूल्य पाउन नसक्दा स्थानीय उखु किसानहरू चरम आर्थिक संकटमा पर्दै आएका छन्।
यसअघि पनि विभिन्न चरणमा प्रशासन, किसान र उद्योग पक्षबीच छलफल भए पनि भुक्तानीको समस्या समाधान हुन नसकेपछि प्रहरीले यो कदम चालेको हो।