हरिवन । सर्लाहीको हरिवन नगरपालिका–३ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक युवतीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० वर्षीया बुनु योञ्जनलाई उनको घरबाटै नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा प्रहरी टोलीले असार २९ गते दिउँसो साढे ३ बजे योञ्जनको घरमा खानतलासी गरेको थियो । उनको सुत्ने कोठाको खाटमुनि लुकाएर राखिएको अवस्थामा प्रतिबन्धित औषधिहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको कोठाबाट नाइट्राजेपाम, ट्याब्लेटलगायत खाली बोतल ४ पिस र ६०० ग्राम गाँजा बरामद गरिएको छ ।
पक्राउ परेकी योञ्जन विरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला अदालत सर्लाहीबाट असार ३० गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय हरिवनले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।