सर्लाहीमा पाँच सय किलो गाँजा बरामद, दुई जना पक्राउ

मलंगवा । सर्लाहीमा शनिबार प्रहरीले पाँच सय किलो गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लागुऔषधको भण्डारण तथा बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) वेदप्रसाद गौतमको कमाण्डमा खटिएको टोलीले कौडेना गाउँपालिका–१, सुकचैना गाउँमा विभिन्न घर तथा बारीमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको ४१९ दशमलव ९३ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। साथै गाँजा जोख्न प्रयोग हुने चार वटा डिजिटल मेसिन र एक वटा तराजु पनि बरामद गरिएको छ।

कारबाहीका क्रममा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीले कारबाहीका क्रममा स्थानीय बासिन्दासँग लागुऔषधविरुद्ध सचेतनामूलक अन्तरक्रिया समेत गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार

सबै