प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टेलिकमको टावरमा चढेका युवकको उद्धार

सर्लाही । सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका युवकको सकुशल उद्धार गरिएको छ।

गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैन प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए।

टावरमा पुगेपछि उनले आफ्ना एक साथीलाई फोन गरी आफू माथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे सुरक्षा निकायलाई खबर पुगेको थियो। प्रारम्भिक अनुमानअनुसार उनी रातिकै समयमा टावरमा चढेको हुन सक्ने प्रहरीले जनाएको छ।

हुसैनले आफ्नी प्रेमिकालाई आफू भएको ठाउँमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न पाउनुपर्ने माग राख्दै टावरबाट हामफाल्ने चेतावनी दिएका थिए। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि परिचालन गरिएको थियो।

उद्धारका क्रममा प्रहरीले उनका बुवा र दाजुलाई घटनास्थलमा बोलाएर हुसैनसँग टेलिफोनमार्फत संवाद गराएको थियो। परिवारको सम्झाइ–बुझाइपछि उनी सुरक्षित रूपमा टावरबाट तल ओर्लिएका हुन्।

सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले परिवारसँगको संवादपछि हुसैन सकुशल टावरबाट ओर्लिएको जानकारी दिए। उद्धारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार हुसैन सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत छन्। उनी र सोही क्याम्पसमा अध्ययन गर्ने एक युवतीबीच प्रेम सम्बन्ध रहेको बताइए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

सबै