बलरा । नेपालमा खेतीको समयमा रासायनिक मलको अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट मल खरिद गरेर फर्कने क्रममा सर्लाहीका दुई किसान दाजुभाइ विगत २० दिनदेखि भारतीय जेलमा थुनिएका छन्।
बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई भारतीय सुरक्षा बलले मल तस्करीको आरोपमा पक्राउ गरी जेल चलान गरेको हो।
विगतका वर्षहरूमा यतिबेला साढे २ बिघा खेतमा रोपाइँ सकिसक्ने यी किसान दाजुभाइ यस वर्ष भने भारतीय कारागारमा बस्नुपरेको छ भने उनीहरूको खेत बाँझै रहेको छ।
सरकारले बेलैमा मल दिन नसकेपछि उनीहरू मलको जोहो गर्न गत असार १७ गते सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका थिए। साइकलमा २ बोरा युरिया र ६ बोरा डीएपी राखेर ल्याउँदै गर्दा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेलगत्तै सोनवर्षा थानामा राखिएका उनीहरूलाई हाल सीतामढी जिल्लाको डुमरास्थित कारागारमा पठाइएको छ। तर, मुद्दामा थप सुनुवाइ हुन नसक्दा उनीहरूको रिहाइ अन्योलमा परेको छ।
थुनामा रहेका नागेन्द्रका ज्वाइँ प्रवीन सिंहका अनुसार डुमरास्थित स्थानीय अदालतले गत असार २५ गते सोनवर्षा प्रहरीबाट घटनाको विवरणसहितका कागजात मगाए पनि हालसम्म धरौटी (बेल) हुन सकेको छैन। “अदालतका न्यायाधीश बिदामा हुनुभएकाले अदालती प्रक्रियामा ढिलासुस्ती भइरहेको छ, तर हामीले प्रयास छाडेका छैनौं,” सिंहले भने। पारिवारिक स्रोतका अनुसार कागजातहरू अदालतसम्म पुगे पनि जटिल कानुनी प्रक्रियाका कारण रिहाइमा ढिलाइ भएको हो।
यस विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सिंह दाजुभाइ पक्राउ परेको घटनाबारे गृह मन्त्रालयलाई औपचारिक रूपमा जानकारी गराइसकिएको बताएका छन्।
आफ्नै प्रयोजनका लागि थोरै परिमाणमा मल ल्याउँदा नेपाली किसान भारतीय जेलमा पर्नु परेको भन्दै स्थानीय स्तरमा उनीहरूको शीघ्र रिहाइका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने माग उठिरहेको छ।