लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–७, डुमडुमेस्थित तरकारी बजार परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
स्थानीय ४२ वर्षीय उमेश विश्वकर्मा बुधबार दिउँसो बजार परिसरभित्र रहेको शौचालयको प्रवेशद्वार नजिकै अचेत अवस्थामा भेटिएका थिए।
घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले जाँच गर्दा उनी मृत अवस्थामा रहेको पुष्टि गरेको हो।
घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट प्राप्त हुने तथ्यका आधारमा घटनाबारे थप विवरण सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ।