सर्लाहीको गोडैता नगरपालिकामा सेवाग्राही पुग्दा कार्यालय खाली, भिडियो सामाजिक सञ्जालमा भाइरल

गोडैता । सर्लाहीको गोडैता नगरपालिकाको कार्यालय तथा वडा नम्बर ५ को कार्यालयसँग सम्बन्धित दुई वटा भिडियो यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन्। भिडियोमा कार्यालय खुलेको र विभिन्न शाखाका कोठामा पंखा चलिरहेको देखिए पनि कर्मचारी भने कार्यकक्षमा उपस्थित नभएको दृश्य देखिन्छ।

भाइरल भिडियोअनुसार सेवाग्राही सेवा लिन कार्यालय पुगेका बेला अधिकांश शाखाका कोठा खाली देखिएका छन्। कर्मचारीहरू आफ्नो कार्यकक्षमा नभेटिएपछि सेवाग्राहीले उक्त दृश्य मोबाइलमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताइएको छ।

त्यसैगरी, वडा नम्बर ५ रामबनस्थित वडा कार्यालयको अध्यक्षको कार्यकक्षमा दुई जना व्यक्ति सुतिरहेको देखिने अर्को भिडियो पनि सार्वजनिक भएको छ। तर भिडियोमा देखिएका ती व्यक्तिहरू कर्मचारी, सेवाग्राही वा अन्य को हुन् भन्ने विषय हालसम्म पुष्टि हुन सकेको छैन्।

स्थानीय सेवाग्राहीका अनुसार कार्यालयमा सेवा लिन जाँदा कर्मचारीहरू कार्यकक्षमा नहुने अवस्था पटक पटक दोहोरिने गरेको छ। यही अवस्थाबाट आजित बनेका सेवाग्राहीले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले भिडियो सार्वजनिक गरेको बताईएका छन्।

यसअघि पनि गोडैता नगरपालिकाका नगरप्रमुख देबेन्द्र कुमार यादवले विभिन्न आन्तरिक बैठक तथा कार्यक्रममा कर्मचारीको कार्यअनुशासनप्रति असन्तुष्टि जनाउँदै आएका थिए। उनले कर्मचारीहरू समयमै कार्यालयमा उपस्थित नहुने, कतिपय अवस्थामा कार्यालय समयमै समेत कार्यस्थलमा अनुपस्थित रहने गरेको विषय पटक पटक उठाउँदै सुधारको आवश्यकता औंल्याएका थिए।

भिडियो सार्वजनिक भएपछि कार्यालयको सेवा प्रवाह, कर्मचारीको उपस्थिती तथा कार्यालय व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ। यस विषयमा प्रतिक्रिया लिन गोडैता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमबहादुर कार्कीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनको फोन सम्पर्क हुन सकेन।

यस्तै, वडा नम्बर ५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्तासँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन स्विच अफ रहेको थियो। घटनाबारे गोडैता नगरपालिका वा वडा कार्यालयले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोले भने स्थानीय तहको सेवा प्रवाह र कर्मचारीको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ।

सम्बन्धित समाचार

सबै