सर्लाहीमा ३३० किलो गाँजासहित एक जना पक्राउ

मलंगवा । सर्लाहीमा प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

बलरा नगरपालिका–७ डुमरियास्थित एक कुखुरा फर्मबाट ३ सय ३० किलोग्राम गाँजासहित स्थानीय २८ वर्षीय अमरजित राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १:१५ बजे डुमरियास्थित भोला सिंहको कुखुरा फर्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी निरीक्षक कैलाश चौधरीको कमाण्डमा खटिएको उक्त टोलीले कुखुरा फर्ममा खानतलासी गर्दा १९ वटा पोकामा लुकाएर राखिएको अवस्थामा ३ सय ३० किलोग्राम गाँजा फेला पारेको हो। खानतलासीकै क्रममा सोही स्थानबाट २६ वटा बोरामा राखिएको करिब १३ क्विन्टल अदुवा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअप गाडी समेत नियन्त्रणमा लिएको छ। बरामद गरिएको लागुऔषध गाँजा, अदुवा, पिकअप गाडी र पक्राउ परेका अमरजित राउतमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार

सबै