सर्लाहीमा ठुलो परिमाणको अवैध मदिरा बरामद, पूर्व विव्यस अध्यक्षसहित दुई जना पक्राउ

धनकौल । सर्लाही प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा र मिनि ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१, धोबिनियास्थित श्री जनकल्याण माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार महतो समेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार बिहान करिब ८ः३० बजे बलरा नगरपालिका–३, लक्ष्मीपुर क्षेत्रमा अवैध मदिरा ओसारपसार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो ।

सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गडहिया, इलाका प्रहरी कार्यालय बलरा र सशस्त्र प्रहरी बलको बीओपी छतौनाबाट खटिएको १७ सदस्यीय संयुक्त टोलीले उक्त क्षेत्रमा छापा मारेको थियो ।

स्थानीय ज्ञानेन्द्र झाको भुस राख्ने गोठमा लुकाइछिपाइ राखिएको प्रदेश २–०३–००१ ख ५१३५ नम्बरको मिनि ट्रकबाट मदिरा अनलोड गरिरहेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ निवासी ३१ वर्षीय राजकुमार महतो र लक्ष्मीपुर निवासी ज्ञानेन्द्र झा रहेका छन् । पक्राउ परेका महतोको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा कार्यकाल केही महिनाअघि मात्र समाप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट करिस्मा सौफी रक्सी २५० कार्टुन, गौरव सौफी रक्सी ४७ कार्टुन, ब्ल्याक एसी ४ कार्टुन १३ बोतल, बियर ४ कार्टुन र मेरिगोल्ड १ कार्टुन बरामद गरेको छ । यसका साथै मदिरा ओसारपसारमा प्रयोग गरिएको करिब १० लाख रुपैयाँ मूल्य बराबरको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएको मदिरा र सवारीसाधनको कुल अनुमानित बजार मूल्य १२ लाख १५ हजार ७५० रुपैयाँ रहेको छ ।

पक्राउ परेका दुवै जना, बरामद मदिरा र ट्रकलाई थप कानुनी कारबाहीका लागि भन्सार कार्यालय मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै