सर्लाही । सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रामक तथा झुट्टा सूचना सम्प्रेषण गरी सार्वजनिक शान्ति र सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले सर्लाहीबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका वडा नं। २ का ३० वर्षीय छोरा मुकेश भन्ने राम प्रवेश राय यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सामाजिक सञ्जालको नियमित निगरानीका क्रममा साउन १३ गते मुकेश कुमार यादव समर्थकू नामक फेसबुक प्रोफाइलबाट सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने खालका भ्रामक भिडियो र झुट्टा समाचार सम्प्रेषण भएको पाइएको थियो।
उक्त प्रोफाइल राम प्रवेश राय यादवले नै सञ्चालन गर्ने गरेको अनुसन्धानबाट खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट भ्रामक सामग्री सम्प्रेषण गर्न प्रयोग गरिएको मोबाइलसमेत बरामद गरेको छ।
प्रारम्भिक सोधपुछका क्रममा यादवले उक्त भ्रामक भिडियो आफ्नै फेसबुक आईडीबाट सम्प्रेषण गरेको स्वीकार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) वेद प्रसाद गौतमका अनुसार यादवमाथि विद्युतीय कारोबार सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।