लालबन्दी । सर्लाहीको लालबन्दीमा प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट १०९ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य सितामढी जिल्लाका २६ वर्षीय कार चालक दीपक कुमार महतो र कारमा सवार २५ वर्षीय अमन कुमार रहेका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ५:३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडि नियमित सवारी जाँच भइरहेको थियो। सोही क्रममा बिआर.०९ एम. ३७६६ नम्बरको भारतीय कारलाई रोकेर खानतलासी गर्दा कारको डिक्कीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको हो।
डिक्कीभित्र प्लास्टिकले बेरिएका २३ वटा पोकामा उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले गाँजा, कार र त्यसमा सवार दुवै जनालाई नियन्त्रणमा लिएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक श्याम थापा मगरको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी नियन्त्रणमा लिइएका व्यक्ति र बरामद सामग्रीमाथि थप अनुसन्धान अघि बढाएको छ।