सर्पले डसेर लालबन्दीमा अढाई वर्षीया बालिकाको मृत्यु, उपचार केन्द्रमा स्थानीयको आक्रोश

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुर गैरीटोलमा विषालु सर्पको डसाइबाट एक अढाई वर्षीया बालिकाको मृत्यु भएको छ। आफ्नै घरमा खेलिरहेको अवस्थामा गोमन सर्पले डस्दा स्थानीय शिवानीकुमारी बैठाको ज्यान गएको हो।

पारिवारिक स्रोतका अनुसार हिजो दिउँसो घरमा खेलिरहेकी बालिका एक्कासी चिच्याएर रोएपछि सर्पले डसेको आशंका गरिएको थियो। बालिकाकी आमा र घरमा इन्टरनेट जडानका लागि आएका प्राविधिक युवाहरू मिलेर खोजी गर्दा घरभित्र गोमन सर्प फेला परेको थियो।

सर्पले डसेको पुष्टि भएलगत्तै बालिकालाई तत्काल उपचारका लागि लालबन्दी नगरपालिका–१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो। त्यहाँ करिब आधा घण्टासम्म प्राथमिक उपचार गर्दा पनि बालिकाको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि स्वास्थ्यकर्मीले भेन्टिलेटर सुविधा भएको बर्दिवास वा जनकपुरका अस्पतालमा लैजान रेफर गरेका थिए। थप उपचारका लागि बर्दिवास पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट जगर्नाथ यादवका अनुसार बालिकालाई विष शरीरभरि फैलिसकेको अत्यन्तै गम्भीर अवस्थामा अस्पताल ल्याइएकाले बचाउन कठिन भएको हो। केन्द्रमा लामो समयदेखि भेन्टिलेटर सञ्चालनमा नरहेकाले एन्टिस्नेक भेनम दिएर तत्काल बर्दिवास रेफर गरिएको यादवले जानकारी दिए।

बालिकाको मृत्यु भएपछि आक्रोशित बनेका परिवार, आफन्त र स्थानीय युवाहरूले आज दिउँसो नवलपुर सर्पदंश उपचार केन्द्र पुगेर प्रदर्शन गरेका थिए। उनीहरूले उपचार केन्द्रको लापरवाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएका थिए।

सो क्रममा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, लालबन्दी नगरपालिका–१ का वडाध्यक्ष हरिहर भट्टराई र सर्पदंश उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेल लगायतको टोलीले आक्रोशित स्थानीयलाई सम्झाइबुझाइ गरेका थिए।

लामो समयदेखि भेन्टिलेटर प्रयोगविहीन रहेको र एन्टिस्नेक भेनमको भरमा मात्र जटिल अवस्थाका बिरामीको उपचार सम्भव नहुने प्राविधिक बाध्यता स्वास्थ्यकर्मीले बुझाएपछि स्थिति सामान्य बनेको थियो।

सम्बन्धित समाचार

सबै