१८ लाख फिरौती प्रकरण : सर्लाहीका युवासहित ७ जना काठमाडौँबाट पक्राउ

काठमाडौँ । काठमाडौँमा एक व्यक्तिको अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा सर्लाहीका एक युवासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अपहरणमा संलग्न सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ४ का २२ वर्षीय जेनिश चौधरीसहितको समूहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चौधरीका साथै रामेछापका मनोज बुढाथोकी (३२), मकवानपुरका निशान रुम्बा तामाङ (२०), ओखलढुङ्गाका निमेश कार्की (२४), चितवनका अमित ओली (२४), अर्घाखाँचीका प्रदिप पोखरेल (२२) र काभ्रेपलाञ्चोकका देव कुमार श्रेष्ठ (२३) रहेका छन्।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार झापाको शिवसताक्षी नगरपालिका वडा नं १० घर भई हाल काठमाडौँको मित्रनगर बस्ने नबिन राया साउन २८ गते अपहृत भएका थिए। चौधरीसहितको ५/६ जनाको समूहले रायालाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्दै उनको परिवारसँग १८ लाख रुपैयाँ फिरौती माग गरेको थियो।

विशेष सूचनाका आधारमा तत्कालै परिचालन भएको अपराध अनुसन्धान कार्यालयको टोलीले खोजी गर्ने क्रममा साउन २८ गते बेलुकी ६:३० बजे काठमाडौँको नागार्जुन नगरपालिका वडा नं। ५ छ्याडोलबाट अपहृत रायालाई सकुशल उद्धार गरेको छ।

प्रहरीका अनुसार अपहरणकारीले रायालाई बन्धक बनाएर फिरौतीका लागि शारीरिक तथा मानसिक दबाब दिएका थिए।

पक्राउ परेका सर्लाहीका चौधरीसहितका ७ जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

प्रहरीले यस घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको बारेमा पनि थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै