नुवाकोटमा बसले ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, लालबन्दीकी एकसहित तीन घाइते

नुवाकोट । शिवपुरी गाउँपालिका-७ स्थित थानाभञ्ज्याङमा अचानक गुडेको बसले पार्किङ गरी राखिएको इलेक्ट्रिक (ईभी) माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आज बिहान अन्दाजी ८:२५ बजे बा.प्र.०८-१ ख ००५२ नम्बरको बस अचानक अनियन्त्रित भई गुडेर सडकको अगाडि रोकिराखेको बा.प्र.३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि दुवै सवारी साधन सडकबाट अन्दाजी ३० देखि ४० मिटर तल भिरमा खसेका थिए ।

दुर्घटनामा घाइते भएका पाँचै जनालाई तत्कालै उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेहरूमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका-८ बस्ने अन्दाजी ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ बस्ने अन्दाजी ६५ वर्षीया उदयमाया खत्री रहेका छन् ।

यस्तै, दुर्घटनामा परी सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने अन्दाजी २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१० बस्ने अन्दाजी ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने अन्दाजी ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् ।

घाइते तीनै जनाको हाल ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

सबै