चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा किसानहरूले खेत सिँचाईका लागि जडान गरेका विद्युतीय पानी तान्ने मोटर चोरी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका–६, कामद निवासी २० वर्षीय शिवदयाल मुखिया र १९ वर्षीय सजिवन मुखिया रहेका छन्। प्रहरीले उनीहरूको साथबाट चोरी भएका तीन थान मोटरसमेत बरामद गरेको छ।
प्रहरीका अनुसार गत साउन २६ गते चन्द्रनगर गाउँपालिका–४, पोखरिया चौरमा जडान गरिएको एक थान र चन्द्रनगर गाउँपालिका–६, कामदमा जडान गरिएका दुई थान कृषि मोटर चोरी भएका थिए।
धान खेतमा सिँचाई गर्न जडान गरिएका ती मोटरहरू चोरी भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो। सोही क्रममा चोरीमा संलग्न शिवदयाल र सजिवनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका दुवै जनालाई चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
उनीहरूलाई सर्लाही जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय केशरगञ्जको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।