लालबन्दी । लालबन्दी नगर वाङ्मय परिषद्ले लालबन्दी नगरपालिकाको इतिहास, भूगोल, कला, साहित्य, भाषा, संस्कृति, सामाजिक जीवन तथा प्राकृतिक, धार्मिक र पुरातात्त्विक सम्पदासहित समग्र पहिचान समेटिने पुस्तक प्रकाशनका लागि लेखक तथा अनुसन्धानकर्तासँग पाण्डुलिपि माग गरेको छ।
परिषद्ले एक अनुरोधपत्र जारी गर्दै लालबन्दीको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्वलाई दस्ताबेजीकरण गरी भावी पुस्ताका लागि उपयोगी र विश्वसनीय सन्दर्भग्रन्थ निर्माण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गर्न लागिएको जनाएको हो।
पाण्डुलिपिका लागि लालबन्दीको ऐतिहासिक पृष्ठभूमि तथा विकासक्रम, भौगोलिक तथा प्राकृतिक सम्पदा, स्थानीय कला–साहित्य–भाषा तथा लोकसाहित्य, जातजाति, संस्कृति,संस्कार, परम्परा तथा सामाजिक जीवन, धार्मिक-ऐतिहासिक तथा पुरातात्त्विक स्थल, स्थानीय जात्रा-पर्व-मेला तथा सांस्कृतिक सम्पदा, लालबन्दीका पर्यटकीय सम्भावना तथा पर्यटनस्थल, स्थानीय कृषि-अर्थतन्त्र तथा जीवनशैली, विकासक्रममा योगदान पुर्याएका सामाजिक सङ्घ संस्थालगायत विषय तोकिएका छन्। यस्तै स्थानीय मौलिक ज्ञान, सिप, लोककला तथा हस्तकलासहित अन्य महत्त्वपूर्ण ऐतिहासिक, सांस्कृतिक वा पर्यटनसम्बन्धी विषयमा समेत सामग्री पठाउन सकिने परिषद्ले जनाएको छ।
परिषद्ले पाण्डुलिपि तयार गर्दा सम्भव भएसम्म प्रामाणिक स्रोत, तथ्य, मिति, स्थान, अभिलेख तथा सन्दर्भसामग्री समावेश गर्न आग्रह गरेको छ। आवश्यक तस्बिर तथा दस्ताबेजसमेत उपलब्ध गराउन अनुरोध गरिएको छ। प्राप्त पाण्डुलिपिलाई सम्पादकीय मापदण्डअनुसार सम्पादन तथा परिमार्जन गरी पुस्तकमा समावेश गरिने परिषद्ले जनाएको छ।
लालबन्दीको इतिहास, संस्कृति, सम्पदा र पहिचानलाई अभिलेखीकरण गर्दै भावी पुस्ताका लागि विश्वसनीय सन्दर्भग्रन्थ निर्माण गर्ने अभियानमा देश तथा विदेशमा रहेका लालबन्दीसम्बन्धी अध्येता, लेखक, साहित्यकार तथा अनुसन्धानकर्ताको योगदान महत्त्वपूर्ण हुने परिषद्को अपेक्षा छ।
इच्छुक लेखक तथा अनुसन्धानकर्ताले आफ्नो परिचय र आवश्यक तस्बिरसहित पाण्डुलिपि २०८३ कात्तिक १५ गतेभित्र परिषद्को कार्यालयमा उपलब्ध गराउनुपर्ने छ। पाण्डुलिपि लालबन्दी नगर वाङ्मय परिषद्को कार्यालय, लालबन्दी–७, सर्लाहीमा बुझाउन वा परिषद्ले उपलब्ध गराएको इमेलमार्फत पठाउन सकिने सूचनामा उल्लेख छ।
परिषद्का अध्यक्ष अच्युत अधिकारीद्वारा जारी अनुरोधपत्रमा लालबन्दीको इतिहास, संस्कृति, सम्पदा र पहिचानलाई अभिलेखीकरण गर्ने यस अभियानमा सहभागी भई ऐतिहासिक कार्यमा सहयोग पुर्याउन लेखक तथा अनुसन्धानकर्तालाई आग्रह गरिएको छ।
