लालबन्दी । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका १, नवलपुरस्थित अञ्जली अस्पताल अगाडिबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको म प्र ०३–००१ ह २४४५ नम्बरको अटोबाट गाँजा बरामद गरेको हो । अटोभित्र लुकाई छिपाई लैजाँदै गरिएको ५ वटा पोकामा जम्मा २२ किलो ८२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा अटो चालक सर्लाही हरिवन नगरपालिका –१, घुकौली बस्ने ३० वर्षीय सुशील साह तथा सोही स्थान बस्ने २५ वर्षीया जगतारण साह र २५ वर्षीया राधिका साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका तीनै जना विरुद्ध लागुऔषध मुद्दामा अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय लालबन्दीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।